
काठमाडौं । एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय गरेको सहभागी नेताहरूले बताएका छन् ।
बैठकमा नेताहरूले पार्टी एकताका लागि संगठनात्मक मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल र पार्टीको कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल गठन सम्बन्धमा छलफल गरेका थिए । कार्यदल गठनपूर्व दुई अध्यक्षबीच वैचारिक कार्यदिशामा सहमति गर्ने निष्कर्षमा नेताहरू पुगेको पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले बताए ।
‘गृहकार्य अलिक पुगेन, थप छलफल गर्न हामीले अर्काे बैठकसम्मका लागि समय लिएका हौं। पार्टी एकतामा कुनै विवाद र विमति छैन, वैचारिक र संगठनात्मक विषयमा सहमति खोज्न दुई अध्यक्षबीच छलफल हुन्छ र त्यसपछि मात्रै कार्यदल गठन हुन्छ’, उनले भने ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि ओली-दाहालबीच फेरि छलफल भएपछि मात्र कार्यदल गठन हुने बताए । आजको अन्नपूर्णमा खबर छ ।