काठमाण्डौँ । व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ । भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबिच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो ।
मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै बेलुका ५ : ३० का लागि सारिएको थियो । संसद् सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार विशेष कारणवश संसद्को बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको उल्लेख छ । प्रमुख राजनीतिक दलका नेता सम्मिलित कार्यदलले अनुदान रकमको विषयमा सहमति जुटाउन नसकेपछि बैठक स्थगन भएको नेकपा एमालेका सांसद गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
अवरुद्ध सदन खुलाउने विषयमा सहमति जुटाउन अहिले प्रमुख दलका शीर्ष नेताको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । भूकम्पपीडितलाई एकमुष्ट राहत दिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ ।