भक्तपुर । कृषिमन्त्री हरिबोल गजुरेलले राजनीतिक दलहरुले कालोबजारीयालाई संरक्षण गरेका कारण देशमा कालोबजारी मौलाएको बताएका छन् ।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गजुरेलले भने ‘वर्तमान सरकारकै संरक्षणमा कालो बजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षणकै कारण कालो बजारी मौलाएको हो ।’
त्यस्तै गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि वैज्ञानिकहरु विदेश पलायन भएको बताए । राजनीतिक अस्थिरताका कारण वैज्ञानिकहरु विदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने बताउँदै देशलाई आवश्यक परेमा कृषि वैज्ञानिकहरु नेपालमै काम गर्ने बताएका हुन् ।
विदेशिन बाध्य भएका यूवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरी जीवन जोहो गर्न सक्ने वातावरण तयार पार्न सरकार लागि परेको भन्दै कृषि क्षेत्रमा पेन्शनको समेत ब्यवस्था गरिएको मन्त्री गजुरेलले बताए । छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको बताए ।
पुनर्निर्माणको सवालमा सरकारले ढिला सुस्ती गरेको स्विकार गर्दै उहाँले राजनीतिक दलहरुले साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिला सुस्ती भएको टिप्पणी गरे ।
सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भई नसकेको भन्दै उहाँले मधेश आन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उहाँले जोड दिनु दिए ।