
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
शनिबार काठमाण्डाैंमा अायाेजित साक्षात्कारमा उनले भने,“मैले पहिलेपनि भनेको छु, आजपनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ।” उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि बताए ।
त्यस्तै उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरीकन प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माग पनि गरे । सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाई थियो ।
उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको पनि जिकिर गरे । यद्धपी उनले समर्थन दिने अवस्था बन्न सक्नेतर्फ संकेत गरे ।