
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि बर्तमान सरकारले सत्ता खालि नगरे धकेलेर भएपनि बाहिर फाल्ने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बसिरहे धकेलेरै फालिदिने चेतावनी दिएका हुन् ।
उनले भने,“हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सत्तामै टाँसिरहन खाेज्नुभयाे भने हामी धकेलेर निकालिदिन्छौं।”
सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने,“यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।”
प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा पनि उनले जोड दिए ।