
काठमाडौं । ‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ । बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो ।
पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक कार्यक्रम गरिने निर्देशक अच्युतप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी राजधानीमा प्रभातफेरि, प्रवचन, रेडियो तथा टेलिभिजनबाट विषादी नियन्त्रण विषयक कार्यक्रम, नेपाल टेलिकमबाट एसएमएस प्रशारण, विभिन्न नाकाबाट राजधानी आयात भइरहेका तरकारीको नमूना परीक्षण, सडक नाटक, अन्तरक्रिया गोष्ठी, सार्वजनिकस्थल तथा सम्बन्धित निकायमा पर्चा, पम्पलेट, स्टिकर तथा पोष्टर वितरण गरी मनाइने भएको छ ।
विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या उब्जाएको छ । मौरीको संख्यामा कमी, जलचर एवं सरीसृप (माछा, गोही, गडेउला, सर्प भ्यागुता) लगायतका जीवको विनासलाई रोकी वातावरण जोगाउन मद्दत पु¥याउने उद्देश्यले विषादी सप्ताह गर्न लागिएको हो ।