सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ।
धेरै समयको मौनतालाई चिर्दै आज एउटा सानो पत्र तपाईंको नाममा पठाउँदैछु । हुनत तपाईंलाई यस्ता पत्रहरु पढने फुर्सद त छैन होला । तर पनि समाचार अनलाइनको यो पोर्टललाई सदुपयोग गर्दै आफ्नो कामका बाबजुद आफ्ना मनका भावनाहरु पोख्दै केही लेख्ने जमर्को गर्दैछु । आशा छ कुनै न कुनै माध्यमबाट तपाईंका कानसम्म यो चिट्ठीमा लेखिएका कुरा पुगोस भन्ने ।
राजनीतिक खिचातानी र बाह्य हस्तक्षेपले देशमा अलि अलि भएका कलकारखानाहरु पनि कौडीको भाउमा बेचेर अधिकांश नेपाली युवालाई बेरोजगार बनाइयो । सँधैको बन्द र हड्तालले देशको आर्थिक मेरुदण्ड नै भाँचिने गरि अर्थतन्त्र नै तहस नहस भएको बेलामा वैदेशिक रोजगारी एउटा सञ्जिवनी भएर निस्क्यो । तर त्यसले देशका लागि त दीर्घकालीन असर पर्ने नै थियो । तर पनि तत्काललाई भने केही सहज अवतरण गराएकै हो । र, लाखौँ लाख युवाहरु बिदेश पलायन हुन बाध्य भए।
तपाईंहरु बर्षौं लड्नुभयो मात्र कुर्सीका लागि । कहिले सल्लाह गरेर त कहिले लडेर पालै पालो कुर्सीमा बस्ने रहर त पुरा गर्नु भयो । तर त्यो कुर्सीमा बसेर प्रवासमा बस्नेहरुका लागि कहिले पनि सोच्ने समय भएन । खैर, भलो त सोच्नु भएन तर कुभलो पनि नसोचिदिएको भए हामी प्रवासी चित्त बुझाएर नै बस्ने थियौं । तर बारम्बार यो र त्यो बहानामा हामीलाई शोषण गरिरहनु भयो ।
सम्माननीय प्रधानमन्त्रीज्यू, जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको बिपरित तपाईंको कदम केही हदसम्म देश र जनताको लागि छ । तपाइँले धेरै सपना बाँडनु भएको छ । हामी ती सपनामा रमेर प्रवासमा घामपानी नभनी काम गरिरहेका छौं । तपाईंले देखाएका सपना तत्काल नै पूरा नभए पनि भावी सन्ततिका लागि एउटा बिकसित नेपालको खाका कोर्नु भएको छ ।
बजेट भाषणमा प्रवासीका लागि त्यस्तो केही स्किम आउँछ होला भन्ने धेरै प्रवासीको मनमा उब्जेको थियो । तर तपाईंको बजेट भाषणले प्रवासीलाई समेट्न सकेन । त्यो पनि ठिकै थियो देशमा महाभुकम्प र नाकाबन्दीले गर्दा देशको अर्थतन्त्र उठ्नै नसक्ने गरि थला पर्न लागेको स्थितिमा हामिलाई कुनै त्यस्तो स्किम नआउनु स्वभाविक नै थियो । देशको अर्थतन्त्रमा टेवा पुर्याउने काम रेमिटेन्सले गरिरहेको अवस्थामा तपाईंले प्रवासीलाई कुनै त्यस्तो योजना त ल्याउन सक्नु भएन नै तर यो र त्यो बाहनामा शोषण भने गरिरहनु भयो ।
यो पटक पनि सुन तस्करीको नाममा हामीलाई तस्करको उपमा दिनुभयो । के दुई बर्ष बिदेशमा बसेर आमा, भाउजू, श्रीमती,दिदी बहिनीलाई कोसेली स्वरुप एक दुई तोला सुन हातमा राख्ने चाहना स्वरुप ल्याएको सुन तस्कर गरेको हुन्छ ? के तपाईंहरुसंग त्यस्तो संयन्त्र छैन कुन तस्करी गरिएको सुन हो र कुन घरायसी प्रयोजनको लागि ल्याएको भन्ने ? हो, दैनिक करोडौंको सुन तस्करी त्यही एयरपोर्ट बाट हुन्छ तर त्यस्को लागि त सरकारले कडा कदम चाल्नुपर्यो । यो होइन कि सबैका लागि बन्द ।
त्यसैले अनेक बहानामा प्रवासीलाई शोषण गर्न बन्द गरियोस । दिन दहाडै आँखा अगाडि भएका तस्करीहरुप्रति आँखा चिम्लेर प्रवासीमाथि लगाउने गिद्दे दृष्टि हटाइयोस ।
लेखक हाल रोजगारीका लागि अबुधाबिमा छन् ।