धनकुटा । राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान मन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तन गराउन सक्रिय समूहलाई कारबाही गर्ने बताएका छन् ।
आइतबार धनकुटामा पत्रकारसँग कुरा गर्दै उपप्रधान मन्त्री थापाले नेपालीको पहिचान गुम्ने गरी लोभ लालच देखाएर धर्म परिवर्तन गराउने समूहलाई संविधान अनुसार कारबाही गरिने बताएका हुन् । उपप्रधान मन्त्री थापाले हिन्दु धर्मको प्रचार गर्ने कार्य भने संविधानले दिएको अधिकार भएको दाबी गरे ।
ठूला राजनीतिक दलका नेताले विदेशीको नुनको सोझो गर्न धर्म निरपेक्षतामा सहमति जनाएको अरोप समेत थापाले लगाए ।
आइतबार बिहान जिल्ला विकास समिति, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिकाको वित्तिय र भौतिक प्रगति सुन्नु भएका मन्त्री थापाले गाविसमा गएको रकम र सामाजिक सुरक्षा रकमको दुरुपयोग रोक्नु पर्ने बताए ।
सरकारको मुख्य प्राथमिकतामा परेका योजना र गाउँमा गएको बजेटलाई सही कार्यान्वयनका लागि जिविस र विषयगत कार्यालयले नियमित अनुगमन गर्नु पर्ने समेत बताए ।