काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले विभिन्न पदमा नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति उपर उजुरी दिन शुक्रबारदेखि सार्वजनिक सूचना जारी गर्ने भएको छ ।
सुनुवाई समितिको बिहीबार बसेको बैठकले सिफारिसमा परेका व्यक्तिहरुबारे उजुरी दिन भोलि शुक्रबारदेखि १० दिने सूचना निकाल्ने निर्णय गरेको हो ।
समितिले एकै पटक प्रधानन्यायाधीशमा सिफारिस सुशीला कार्की, सर्वोच्चका लागि सिफारिस अरु ११ जना न्यायाधीश र २२ देशका लागि सिफारिस राजदूतबारे जनगुनासो लिखित रुपमा दिन आह्वान गर्ने निर्णय गरेको समितिका सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
यस्तै समितिले सुनुवाईको कार्यविधि पारित गरेको छ । पारित कार्यविधिमा बेनामे उजुरी दिन नपाइने, लिखित रुपमा दिनुपर्ने, संसद सचिवालयमा प्राप्त उजुरी एकैपटक समितिले मात्र खोल्न पाउने उल्लेख छ ।
यसअघि सचिवालयमा प्राप्त उजुरी पहिले नै सार्वजनिक हुन्थ्यो । उजुरी प्राप्त गरेको तीन दिनपछि समितिले सुनुवाई सुरु गर्ने ढकालले बताए ।