नारीको सम्मान र छोरीको महत्वको सम्बन्धमा आजकल सामाजिक सञ्जालमा पोस्ट गरिएका कैयौं लेखहरु, भनाईहरु र रचनाहरु पढ्दा लाग्छ, विभेद कहाँ छ ? छोरी नै नभए बुहारी कहाँबाट ल्याउछौं ?
यो एउटा पंक्ति पढेपछि झन् मन गदगद हुन्छ । गहिरिएर पढ्ने हो भने यो एउटा पंक्ति नै पर्याप्त छ, छोरा र छोराको सहअस्तित्वको महत्व दर्शाउनका निम्ति ।
तर हरेक सिक्काको दुई पाटा भए झैँ हरेक दिन यिनै सामाजिक सञ्जालमा भेटिने कैयौ पोस्टहरुका शिर्षकहरु हुन्छन्, ‘छोरा पाउने अचुक उपाय’, ‘छोरा पाउने फर्मूला’, ‘गर्भमा रहेको सन्तान छोरा वा छोरी भएको थाहा पाउने तरिका’ आदि इत्यादि ।
आफू उभिएको जमिननै भासिएको अनुभव हुन्छ आफैंलाई । यी त भए सामाजिक सञ्जालमा पोस्टहरुका कुरा, अझ भयानक त ती सल्लाहकारहरु (अधिकतर महिला) हुन्छन्, जो हाम्रो गाँउघरमा निःशूल्क उपलब्ध हुन्छन् ।
उनीहरु पनि विशेष स्थान र समय हेरेर सक्रिय हुन्छन् । विवाह, व्रतवन्ध, पूजा अन्य विभिन्न सामाजिक समारोहहरुमा यिनीहरु निःशुल्क ज्ञान बाँडिरहेका भेटिन्छन् ।
छोरा नभएमा कुन व्रत लिने, कुन बाबाकोमा जाने, कुन हस्पिटल तथा क्लिनिकमा गोप्य तरिकाले गर्भ परीक्षण र गर्भपतन हुन्छ, कुन ज्योतिषले छोरा पाउने साइत जुराउँछन्, आदि इत्यादि ।
हाम्रो शिक्षाको स्तर त बढ्यो तर चेतना र नैतिकताको स्तर कहिले बढछ ? जति हाम्रो समाज सभ्य र शिक्षित हुँदैछ, त्यति नै विभेदका तर्कहरु पनि बढिरहेका छन् । निम्न, मध्यम र उच्च वर्ग, अशिक्षित र शिक्षित अनि महिला र पुरुष, हरेक वर्गका मानिसहरुको आफ्नै तर्क छ छोराको अनिवार्यताको बारेमा । सबैभन्दा वाहियात तर्कहरु, ‘मेरो लागी त छोरा र छोरी समान हो तर समाजको लागी भएपनि एउटा छोरा चाहिने रहिछ नत्र हेप्छन्’, । ‘सम्पत्ति कमाएर मात्र के गर्नु खर्च गर्ने पनि चाहियो ।’ ‘मैले खडा गरेको व्यवसाय लाई अघि बढाउने उत्तराधिकारी चाहियो, छोरी त अर्काको घर गईहाल्छन्’ । ‘हाम्रो वंश अगाडि बढाउने कुलदिपक चाहियो ।’
यस्ता तर्कहरु गर्नेसँग प्रश्न गर्न मनलाग्छ, जो मानिस बाटोमा भोकै नांगै भिख मागिरहेको बालकलाई आफ्नो खल्तिबाँट पाँच रुपैया दिन सक्दैन, उसले समाजको लागि छोरा जन्माउँछ ?
भारतमा रहेका सयौं बिदेशी कम्पनीहरुलाई हल्लाउने गरी अर्बाैं खर्बाैंको व्यवसाय गरिरहेका स्वामी बाबा रामदेवलाई किन आवश्यक परेन उत्तराधिकारीको ?
के मदर टेरेसा, फ्लोरेन्स नाइटिंगेल, पासाङ्ग ल्यामु शेर्पा, सीता अनि भृकुटी कूलदिपक होइनन् ? प्रश्न गर्न मन लाग्छ, ‘लु, पुरुषले मात्र संसार चलाएर देखाओ त !’
सुतिरहेको मानिसलाई त जगाउन सकिन्छ तर जानीजानी जाग्न नचाहनेको कुनै उपचार छैन ।
छोराको चाहनामा हरेक पटक गर्भ परीक्षण र गर्भपतन गर्ने शिक्षित भनाउँदाहरु (हत्यारा) को तुलनामा हरेक बर्ष छोराको प्रतिक्षामा छोरीलाई जन्म दिई भगवान्को इच्छा सम्झी स्वीकार गर्ने मातापिता (जसलाई अनपढ, गँवार भन्छन्) धेरै बुद्दिजिवी र दयालु हुन्छन् ।
एउटा कटु सत्य यो हो कि विभेद त छ, हाम्रो घरपरिवार, समाज र सबैतिर विभेदका स्वरुपहरु अलग अलग भएपनि । यो विभेद हटाउन असम्भव छैन तर अत्यन्त कठिन छ ।
जति सहजताका साथ हामी समाजमा यो विभेद विरुद्द आवाज उठाउन सक्छाै , आफ्नो अन्तर्मन र आफ्नै घरपरिवारमा रहेका विभेद मेटाउन र त्यस विरुद्द आवाज त्यति सहज छैन ।
कुनै समयमा असम्भव मानिने सतिप्रथाको त अन्त्य भयो भने यो विभेदको अन्त्य पनि सम्भव छ । तर यो विभेदको मानसिकता हटाउन व्यक्ति स्वयंबाट सुरु गर्नपर्छ ।