विर्तामोड । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले कुनै पनि हालतमा संविधान पुनर्लेखन नहुने बताएका छन् ।
सोमबार प्रेस चौतारी झापाले जनपक्षीय नेता द्रोणाचार्य क्षेत्रीको २३ औँ स्मृति दिवसमा स्थापना गरेको पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले संविधान पुनर्लेखन काे सर्त कुनै पनि हालतमा सम्भव नहुने बताएका हुन् ।
उनले संविधानसभा विघटन भइसकेको अवस्थामा संविधान पुनर्लेखनकाे अधिकार कसैलाई नभएकाे समेत बताए ।
मन्त्री राईले मन्त्रिपरिषदले पारित गरेर ब्यवस्थापिका संसदमा पेश गरिसकेको संविधान कार्यान्वयनको कार्यतालिका सहितको कार्ययोजना प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले पहिलादेखि नै भने अनुसार नै ल्याएकोले त्यसमा कसैको पनि विमति हुन नसक्ने दावी गरे ।
६ जना पत्रकार पुरस्कृत
द्रोणाचार्य क्षेत्रीको स्मृतिमा प्रेस चौतारी झापाले स्थापना गरेको द्रोणाचार्य स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार यसबर्ष दक्षिण एसियामै पहिलो सामुदायिक रेडियो स्थापना गर्ने झापाका रघु मैनालीलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार १ सय रुपैयाँको रहेको छ ।
प्रमुख अतिथि समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मैनालीलाई नगद, सम्मान पत्र र दोसल्लाले सम्मान गरेका थिए ।
त्यसैगरी, उदयमान पत्रकारिता पुरस्कारबाट ५ जना उदीयमान पत्रकारलाई सम्मान गरिएको छ । पुरस्कृत हुनेहरूमा लक्ष्मी नेपाल, सुनिरा मैनाली, आत्मराम राजवंशी, दिपेन लावती र अशोक अधिकारी रहेका छन् ।
पुरस्कारको राशी ३ हजार ३ सय ३३ रुपैयाँ रहेको थियो ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजक हिक्मत कार्की, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, प्रमुख जिल्ला अधिकारी मदन भूजेल, ब्लास्ट दैनिकका प्रधान सम्पादक किशोर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा हालै निर्वाचित झापाका अम्बिका भण्डारी र गोपाल गड्तौलालाई समेत सम्मान गरिएको थियो ।
चाैतारीका उपाध्यक्ष मनकुमार गदालले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन सचिव प्रदीप परियारले गरेका थिए ।