विर्तामोड । वेपत्ता पारिएका परिवार तथा आफन्तले ‘बरु चितामा जलाउ चिन्तामा नजलाउ’ भन्दै बेपत्ता आयोग समक्ष गुनासो पोखेका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा वेपत्ता आफन्त छानविनका लागि उजुरी गर्नेहरुले आयोगसमक्ष आफूहरुलाई चिन्ताबाट मुक्त गराइदिन आग्रह गरे । झापाको विर्तामोडमा शुक्रबार आयोगद्वारा आयोजित छलफलमा उनीहरुले मारिएका भए मारिएको भनिदिन बेपत्ता परिवार तथा आफन्तले आयोगसमक्ष आग्रह गरे ।
आफ्ना छोरा बेपत्ता भएको पीडा पोख्दै युवराज ढुंगेलले भने, ‘खानेबेलामा त्यसैको याद आउँछ । सुत्नेबेलामा त्यसैको याद आउँछ । राति कसैले दैलो ढक्ढक्यायो भने पनि उही आयो होला भन्ने लाग्छ । कति दिनसम्म यो चिन्तामा बस्नु ?’
२०५९ साल पुष १३ गते आफ्नी बहिनी सम्झना अधिकारीलाई तत्कालिन राज्य पक्षले बेपत्ता पारेको भन्दै उनका परिवारका सदस्यले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी दिएका छन् । सम्झनाका दाजु नेत्रप्रसाद अधिकारीले भने, ‘मेरी बहिनी बाँचेकी छे भने कहाँ छे? मारेकै हो भने मारेको भन्देउ ।’
सम्झना अधिकारीसंगै राज्यद्वारा बेपत्ता बनाएका भनिएका चतुरमान राजवंशीकी श्रीमति पूजा खनालले उजुरीकर्ताहरु असुरक्षित रहेको बताइन् । उनले भनिन्, ‘सुरक्षा निकायका मानिसहरुले गोप्य तरिकाले उजुरीकर्ताहरुको बारेमा जानकारी लिँदैछन् । हामीलाई आयोगले सुरक्षा दिनुपर्यो ।’
उजुरीकर्ता तथा आयोगका सदस्य तथा कर्मचारीको सुरक्षाका लागि सरकारलाई लेखेर पठाउने आयोगका प्रवक्ता पाठकको भनाई छ ।