फिलाडेल्फिया (अमेरिका) । धेर गुलियो खाएर मान्छे मोटाएका भन्दै अमेरिकाको फिलाडेल्फिया राज्यले गुलियो पेय पदार्थमा कर लगाउने प्रावधान ल्याएको छ ।
पेय पदार्थ उद्योगले यस्तो प्रावधानलाई रोक्नका लागि करोडौं डलरको अभियान चलाएपनि राज्यले अन्ततः कर लगाउने निर्णय गरेको हो ।
‘सोडा कर’ भनी चिनिने यस्तो कर लगाउने फिलाडेल्फिया अमेरिकाको पहिलो प्रमुख शहर हो ।
यो करका समर्थकहरूका अनुसार यसले १५ लाख जनताको स्वास्थ्यमा सुधार ल्याउनेछ ।
यो प्रावधान अर्को वर्षको जनवरी महिनामा लागू गरिनेछ भने यसबाट नौ करोड राजस्व उठ्ने अपेक्षा गरिएको छ । फिलाडेल्फिया शहरका मेयर जिम केन्नीले उठेको राजस्व बालबालिकाको विद्यालय, सामुदायिक विद्यालय र मनोरञ्जन केन्द्रमा खर्च गरिने बताउनुभयो ।
प्रति आउन्समा १.५ सेन्टका रूपमा यो कर लगाइनेछ ।
वितरकले सबै चिनीयुक्त वा कृत्रिम रूपमा गुलिया बनाइएका पेय पदार्थमा यो कर तिर्नुपर्नेछ । फिलाडेल्फियामा ६८ प्रतिशत वयस्क तथा ४१ प्रतिशत बालबालिका मोटोपनबाट ग्रस्त छन् र उनीहरू गुलियो पेय पदार्थ अत्यधिक सेवन गर्छन् ।
कर लगाउने प्रस्तावलाई चारका विरुद्ध १३ मतले पारित गरिएको थियो ।