काठमाडौं। व्यवस्थापिका संसदको बैठक बुधबार बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा संसदको कार्यसञ्चालन नियमावली पारित गर्ने, बजेटमाथि छलफल, ऋण तथा जमानत विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय पुननिर्माण प्राधिकरणको कामकारबाहीलाई लिएर सदन अवरुद्ध गर्ने चेतावनी दिएकाले आजको कार्यसूची प्रभावित हुने सम्भावना छ । कांग्रेसले हिजो सबैको संसदीय दल कार्य समितिको बैठकले सदनमा कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । कांग्रेसले भूकम्पछिको पुन निर्माण प्रभावकारी नभएको, प्राधिकरणलाई एमालेकरण गरिएको, सरकारको कामकारबाही प्रभावकारी नभएको, एकलौटी चल्ने खोजेको, संविधान कार्यान्वायनमा उदासिनता देखाएको आरोप लगाएको छ ।
सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नभए संसदले मतदानबाटै सुनुवाइ समितिको संख्या टुंगो लगाउने छ । सत्तारुढ दलहरुले सुनुवाइ समितिको संख्या १५ हुनुपर्ने प्रस्ताव दर्ता गरेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसले ७५ सदस्यीय हुनुपर्ने अडान लिएकोे छ ।
नियमावलीको अभावमा प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीश र सरकारद्वारा प्रस्तावित २२ राजदूतको सुनुवाइ हुन सकेको छैन । नियमावली पारित नहुँदा संसदीय समितिका नियमित कामदेखि सदनमा विचराधीन विधेयक पारित गर्ने प्रक्रियालाई समेत असर परेको छ ।