काठमाडौं । सरकारले कृषि क्षेत्रका अनुदानका कार्यक्रमलाई वेबसाइटमा राख्न अनिवार्य गरेको छ । आउँदो आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन ल्याइएको अनुदानका सबै कार्यक्रमका बारेमा कृषि मन्त्रालयको वेबसाइटमा सम्पूर्ण जानकारी राख्ने तयारी भएको हो ।
बाली, विरुवा, बीउ, मल, उपकरण लगायतमा अनुदानको व्यवस्था गरेपनि अनुदान पाउन कठिनाई भएको किसानको गुनासो आएको थियो । किसानको गुनासो पछि यस सम्बन्धी सबै जानकारी वेबसाइटमा राख्न लागेको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार सम्बन्धित जिल्ला र विभागको वेबसाइटमा पनि अनुदानका बारेमा सबै जानकारी राखिनेछ । यस्तै अनुदानका बारेमा किसानलाई जानकारी दिन ठाउँ ठाउँमा होर्डिङबोर्ड पनि राखिने छ ।
किसानलाई जानकारी नगराइकनै कुनै पनि अनुदानका कार्यक्रम अघि नबढाउने प्रवक्ता कार्कीले बताए ।
सरकारले कृषि क्षेत्रका लागि अनुदान दिन झण्डै साढे १३ अर्ब रुपैयाँ छुट्टाएको छ ।