काठमाडौं । नेपाल विद्यार्थी सङ्घको (नेविस) ११ औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ ।
केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेर मंगलबार सम्पन्न भएको सङ्घको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति र स्थानको टुङ्गो लगाएको हो । बैठकले सङ्घको महाधिवेशन आउँदो साउनको २३ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मोतीलाल भण्डारीले जानकारी दिनुभयो ।
आगामी केन्द्रीय समिति १५१ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ भने पदाधिकारीको संरचनाका बारेमा टुङ्गो लगाउन कार्यदल गठन गरी जिम्मा दिइने भएको छ । रन्जित कर्णको नेतृत्वमा रहेको सङ्घको अहिलेको मनोनीत केन्द्रीय समिति १२१ सदस्यीय रहेको छ ।
देशभरका विभिन्न जिल्ला समिति तथा क्याम्पस समितिमा रहेको विवाद मिलाउन छुट्टै समिति बनाउने र महाधिवेशनलाई व्यवस्थित गर्न विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय भएको भण्डारीले जानकारी दिए । झन्डै १५ जिल्लामा अझै पनि सङ्घको विवाद रहेको भनिएको छ ।