विर्तामोड । बीस महिना अघि धनकुटाको भेडेटारमा पाँच लिम्बुवान घटकको एकीकरणपछि गठन भएको सङ्घीय लिम्बुवान पार्टी नेपालको नेतृत्व अग्रज लिम्बुवान नेता सञ्जुहाङ पालुङ्वाले लिएका छन् ।
पालुङ्वालाई नेतृत्व सुम्पिएको यो निर्णयसँगै पार्टीबाट कुमार लिङ्देनलाई अध्यक्ष पदबाट हटाइएको छ । अध्यक्ष कुमार लिङ्देनले भेडेटार एकीकरण पूर्व आफैले नेतृत्व गर्दै आएको सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चलाई निर्वाचन अयोगमा नवीकरण गराएपछि असन्तुष्ट भएका एकता पक्षधर अन्य घटकहरूले सञ्जुहाङ पालुङ्वालाई पार्टीको भेला आयोजक समितिको संयोजक तोकेका हुन् ।
लिङ्देनसँग असन्तुष्ट पार्टीका बहुमत केन्द्रीय पदाधिकारी तथा सदस्यसहित एकता पक्षधरहरूको यही शनिवार र आइतवार आयोजित राजनीतिक भेलाले आयोजक समिति निर्माण गर्दै त्यसको संयोजकमा पालुङ्वालाई चयन गरेको हो ।
समितिले सोमवार विर्तामोडमा पत्रकार सम्मेलन गरी भेलाको ४ बुँदे निर्णय सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा पार्टीका सर्वोच्च नेता कमल छाराहाङ लगायतका वरिष्ठ नेताहरू उपस्थित थिए । भेलाको पहिलो बुँदामा सङ्घीय लिम्बुवान पार्टी नेपाललाई निर्वाचन आयोगमा दर्ता गराउने निर्णय गरिएको छ भने त्यसरी दर्ता गराएको ३ महिनामा महाधिवेशन गर्ने दोस्रो बुँदामा उल्लेख छ ।
निर्णयको तेस्रो बुँदामा पार्टीमा छलफल नै नगरी लिङ्देनले मधेशी दलसँग गठबन्धन गरेको भन्दै केन्द्रीय समितिको आगामी बैठकमा त्यस बारे टुङ्गो लगाइने र चौथो बुँदामा भेडेटार सहमति पूर्वका पाँच लिम्बुवान पार्टीलाई खारेज गर्न निर्वाचन आयोगमा निवेदन पेश गर्ने निर्णय गरिएको छ । पार्टीका तर्फबाट नेता लिङ्देनलाई भेलाका निर्णय आत्मसात गर्न आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च नेता कमल छाराहाङले कुमार लिङ्देनले अध्यक्षको हैसियत गुमाइसकेको कारण भेलाले पालुङ्वालाई संयोजक तोक्नु परेको बताए । उनले पार्टीको चुनाव चिन्ह खुकुरी र झण्डा लिङ्देनलाई नदिइने बताए ।
पार्र्टीको संयोजक तोकिएका नेता पालुङ्वाले लिम्वुवान स्वायत्त प्रदेश प्राप्तिको आन्दोलनमा सबै एकता पक्षधरलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले एक प्रसङ्गमा ग्रेटर लिम्वुवानको धारणा पार्टीभित्र व्यक्त हुनु स्वाभाविक भएको उल्लेख गर्दै सुगौली सन्धिपूर्व सिक्किमसम्म लिम्बुवानको भूभाग फैलिएको इतिहास भुल्न नसकिने बताए ।