दमक ।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा तयारीका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ७ ले दमकमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले संविधान कार्यान्वयन गर्न पनि स्थानीय निकायसहित प्रदेश सभाको निर्वाचन गर्न जरुरी भएको बताए ।
उनले तोकिएको समयसीमाभित्र संविधान कार्यान्वयन गर्न दल लाग्नुपर्ने बताए । उनले नयाँ संविधान काँग्रेसकै नेतृत्वमा आएको र यसको कार्यान्वयन गर्न पनि काँग्रेसले वैचारिक रुपमा नेतृत्व लिने पर्ने बताए ।
काँग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले सरकार संविधान कार्यान्वयन गर्न दलीय सहकार्य गर्न नसकेको जिकिर गरे ।
भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सांसद नगेन्द्र कुमाल, सांसद महेन्द्रकुमारी सुब्बालगायतले काँग्रेसलाई बलियो बनाउन हरेक कार्यकर्तामा जिम्मेवारी आएको बताए ।