विर्तामाेड । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास सबैको साझा मुद्दा भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए । आज बिहान दमक–६ मा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके केही पनि असम्भव नरहेको बताए ।
वर्तमान सरकारले देशको विकासमा उल्लेखनीय कामको सुरुवात गरेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको मुहार फेर्न सबैले हिम्मत गर्नुपर्ने समेत बताए । आेलीले भने , ‘देशको विकासका योजना सार्वजनिक गर्दा साथीहरूले हावादारी भनेर आलोचना गर्दा अचम्म लागिरहेकाे छ ।’
आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन दमक आएका प्रम ओलीले दमकलाई विकासको नमुना सहर बनाउने अठोट लिएको समेत बताए ।
भ्यूटावरको शिलान्यास लगत्तै प्रधानमन्त्री ओलीले मोरङको मधुमल्ला जोड्ने दमक–५ स्थित मावा खोलामा बनिने पुलको समेत शिलान्यास गरे ।
दमकको आन्तरिक पर्यटन प्रवर्धनमा पूर्वकै व्यवस्थित बन्न लागेको सो भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्युटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका थिए ।