विर्तामोड । विप्लव नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका क्रममा राजधानी लगायत विभिन्न स्थानमा सवारी साधनमा माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेका छन् ।
माओवादी कार्यकर्ताले झापाको शान्तिनगर–१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन् ।
उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा विहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि शर्माले जानकारी दिए ।
माओवादीले आह्वान गरेको बन्दका कारण सार्वजनिक यातायात पूर्ण रुपमा बन्द भएका छन् । निजी सवारी साधन, इरिक्सा तथा मोटरसाइकल भने चलेका छन् ।
यसैविच काठमाण्डौबाट झापा आउँदै गरेका रात्री बसहरुमा बिहान करीब चार बजेतिर माओवादी कार्यकर्ताले तोडफोड गरेका छन् । केही बसका अगाडि तथा झ्यालका सिसा फुटेका छन् ।
नेकपा माओवादीका कार्यकर्ताले तीनकुनेमा ट्याक्सीमा तोडफोड गरेका छन् । बन्द ट्याक्सी चलाएको भन्दै तोडफोड बन्दकर्ताले गरेका हुन् । बन्द गराउँदै हिँडेका २१ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।
यता झापामा पनि बन्दको प्रचार गर्दै हिँडेका सात जना माओवादी कार्यकर्तालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।