काठमाडौं । नयाँ शक्ति नेपालले पार्टी घोषणा राष्ट्रिय भेलामा सहभागी हुन आउने प्रतिनिधिहरुलाई बिरयानी खुवाउने भएको छ ।
राष्ट्रिय भेलाको लागि गठित प्रतिनिधि आवास व्यवस्थापन उपसमितिकी संयोजक बलावती शर्माले भन्नुभयो, ‘छलफल सत्रका करिब १ हजार ५ सय प्रतिनिधिलाई नयाँ परिकार बिरयानी खुवाउने तयारी गरिएको छ ।’
पार्टीको दुई दिने छलफल सभामा सहभागी प्रतिनिधिलाई स्वास्थ्य र ताजा खानासहित उचित आवासको व्यवस्था गरिएको शर्माले स्पष्ट गर्नुभयो । शर्माले अगाडि भन्नुभयो, ‘खाजा, खानालगायतका सबै परिकारको खाद्य गुणस्तर जाँच गरेर वितरण गर्नेछौं’ ।
प्रज्ञा प्रतिष्ठानमा हुने छलफल सत्रका विभिन्न खाना व्यवस्थाको लागि दक्ष स्वयम्सेवक समेत खटाइने शर्माले बताउनुभयो । ‘करीब सात सय प्रतिनिधिलाई ३०, ३१ र ३२ गते तीन दिनको लागि उपत्यकाका विभिन्न क्षेत्रमा स्वच्छ र सफा आवासको व्यवस्था छ,’ उहाँले भन्नुभयो, ‘आर्थिक मितव्ययिता अवलम्बन गरी उपत्यकामा निजी आवास हुने परिषद् सदस्यहरुले कम्तिामा एक जना प्रतिनिधिको आवासको व्यवस्था गर्नेगरी मिलाइएको छ ।’
पार्टी स्थापना राष्ट्रिय भेला घोषणासभा जेठ ३० गते दशरथ रंगशालामा हुनेछ र नेपाल प्रज्ञा प्रतिष्ठानमा जेठ ३१ र ३२ गते नयाँ शक्ति नेपालको दुई दिनसम्म छलफल सत्र चल्नेछ । घोषणा सभामा पर्यवेक्षक नरहने शर्माले जानकारी दिनुभयो ।