
काठमाण्डाैं । विशेष अदालतले भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई ७ दिन थुनामा राखि थप अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
शुक्रबार नियन्त्रणमा लिएका शर्मालाई म्याद थपका लागि आईतबार विशेष अदालतमा हाजिर गराईएको थियो । विशेषले शर्मालाई नियन्त्रणमा लिएको दिन देखि लागु हुने गरी सात दिनको समय थुनामा राख्न अनुमति दिएको हो ।
आयोगले भने थप अनुसन्धानका लागि ३० दिन थुनामा राख्ने गरि म्याद दिन आग्रह सहितको निवेदन गरेको थियो । अनुसन्धान अघि बढाउनका लागि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको विशेष अदालतका रजिष्ट्रार भीम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
न्यायाधीशद्धय मोहन रमण भट्राई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले शर्मालाई थुनमा राख्न ७ दिनको म्याद दिने फैसला गरेको हो । म्याद थप पछि सुरक्षा घेरा भित्रै बाट विभागका निलम्बित महानिर्देशक शर्माले आफु माथि लागेको आरोपलाई कर फछ्र्याैट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिनुभयो ।
कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यलय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।