![]()
विर्तामोड । झापामा एउटै पदका लागि आमा छोरी नै उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रेका छन् ।
असार १४ गते हुने निर्वाचनका लागि झापा भद्रपुर नगरपालिकाको उपप्रमुख पदका लागि तारादेबी भुर्तेल नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार हुनुहुन्छ ।
भुर्तेलकी छोरी दुर्गा खतिवडा भुर्तेल नेपाली काँग्रेस कै तर्फबाट मेचीनगर नगरपालिकाको उपप्रमुख पदको उम्मेद्वार बन्नु भएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरको उपप्रमुखमा भुर्तेललाई उम्मेद्वार बनाउन सिटौला कै प्रमुख भुमिका रहेको काँग्रेस निकट स्रोतले दाबी गरेको छ ।
त्यस्तै काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माको गृह नगर मेचीनगर नगरपालिकाको उपप्रमुखको टिकट पाउने क्रममा खतिवडालाई शर्माको समर्थन रहेको बुझिएको छ । खतिवडा पनि सिटौला पक्षधर नै मानिन्छिन तर टिकटका लागि बिश्वप्रकाशसंगको सम्बन्धलाई सुधार गरेर खतिवडाले मेचीनगरको उपप्रमुखको टिकट हात पारेको काँग्रेस नेताहरु बताउँछन् ।
काँग्रेसकी पुरानी कार्यकर्ता भुर्तेल काँग्रेस नेता सिटौलाकी बिश्वास पात्रका रुपमा चिनिनु हुन्छ । त्यसैले पनि धेरै आकाक्षीलाई उछिनेर भद्रपुर नगरको उपप्रमुखको उम्मेद्वार बन्न भुर्तेललाई सजिलो भएको एक काँग्रेस नेता बताउनु हुन्छ ।
यता मेचीनगर नगरपालिकामा आकाक्षी अरु पनि भए पनि नगरको भौगोलिक अवस्थाका कारण पनि दुर्गा खतिवडाको हातमा उपप्रमुखको टिकट आईपरेको बुझाई धेरै काँग्रेस कार्यकताको रहेको देखिन्छ । आमा छोरी नै काँग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।