
काठमाडौं । ललितपुर महानगरपालिकाको मयेर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन विजयी हुनुभएको छ । एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३ सय २६ मत अन्तरले पराजित गर्दै महर्जन मेयर पदमा निर्वाचित हुनुभएको हो । महर्जनले २४ हजार ६ सय ४२ मत पाउनुभएको थियो ।
उपमेयर पदमा पनि कांग्रेसकै गीता सत्याल निर्बाचित हुनुभएको छ ।
साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५ सय ७९ मत अन्तरले पराजित गर्दै कांग्रेसकी उम्मेदवार सत्याल निर्बाचित हुनुभएको हो ।
यस्तै काठमाडौं, पोखरा लेखनाथ र भरतपुर महानगरपालिकाको मतगणना भने जारी छ । पछिल्लो मत परिणाम अनुसार तीनै महानगरपालिकामा एमालेको अग्रता छ । हेटौडा उपमहानगरपालिकामा पनि एमालेकै उम्मेदवार बिजयी हुने अनुमान गरिएको छ ।
यसैबिच पाँच दिनदेखि रोकिएको भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना आज साँझ ५ बजेबाट सुरु हुने भएको छ । बिहानको सर्वदलीय बैठकले वडा नम्बर ३ र ४ मा पुनः मतगणना गर्ने सहमति गरेपछि मतगणना सुरु हुन लागेको हो ।