
काठमाडौं । सरकारले स्थानीय तहको सङ्ख्या पुनरवलोकनको तयारी गरेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालेले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी ललितपुरमा आज बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहको सीमाङ्कन र नामाङ्कनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
सरकारले दोस्रो चरणको निर्वाचन गर्न तराई–मधेसका दलको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न स्थानीय तहको सङ्ख्या पुनरवलोकनका लागि उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सो तयारीप्रति आपत्ति जनाउँदै एमाले केही दिन सदन अवरोध समेत गरेको थियो ।
गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनपछि बिहीबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा एमालेले यो विषय पुनः उठाउने भएको बताइन्छ । पहिलो चरणमा ३, ४ र ६ नं प्रदेशको निर्वाचन भएको छ भने बाँकी चार प्रदेशका जिल्लामा यही जेठ ३१ का लागि निर्वाचनको मिति तोकिएको छ ।
एमाले बैठकको निर्णयमा भनिएको छ, “निर्वाचनका सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगिसकेका अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमाङ्कन र सङ्ख्यालाई हेरफेर गर्ने कुरा स्वीकार्य नहुने पुनः स्पष्ट गर्दछौँ ।”