
काठमाण्डाैं, २९ वैशाख । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले निर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको पाइएकोले छानबिन गरी आयोगले कडाभन्दा कडा कारबाही गर्ने बताउनु भएको छ ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव मैनालीले मौन अवधिमा उम्मेद्धवारले पनि आचारसंहिता विपरित चुनावी प्रचार गरेको भए उम्मेद्धवारी नै रद्द गर्ने सम्मको चेतावनी दिनुभएको हो ।
निर्वाचन आचारसंहिता कडाईको साथ लागु गर्ने आयोगको अठोट भएकाले आयोग दिनरात मेहनत गरेर काम गरिरहेको उहाँले बताउनु भयो । उहाँले, आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गरेको पाईएका कडा भन्दा कडा कारबाहीे र जरिवाना चेतावनी समेत दिनुभयो ।
निर्वाचन आयोगमा फेसबुकबाट चुनावी प्रचार गर्ने काम नरोकिएको तथा मोबाइलमा एसएमएस पठाएर भोट मागेको भन्दै उजुरी पर्न थालेको प्रारम्भिक जानकारी आफूसँग भएकोले यसबारेमा आयोगका सुचना प्रविधि अधिकृतहरुले अनुगमन गरिरहको पनि उहाँले बताउनुभयो ।