
काठमाडौं, २९ वैशाख – चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा आयोजित ओबिओआरमा नेपालको सहभागिता सम्बन्धी बृहत् समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले हस्ताक्षर गर्नु भएको हो ।
त्यस्तै चिनियाँ राजदूत यु होङ्ले पनि उक्त अवधारणा पत्रमा हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर समारोहमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले सम्झौता ऐतिहासिक भएको बताउनु भयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै चिनियाँ राजदूत यू होङले यस सम्झौताले क्षेत्रीय सहयोग मजबुत हुने विश्वास व्यक्त गर्नु भयो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको चीन भ्रमणअघि नेपालले वान बेल्ट वान रोड अवधारणाको सदस्य बन्न चीनसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । दक्षिण एसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश, पाकिस्तानपछि नेपाल चिनियाँ उक्त अवधारणाको सदस्य बनेको छ । अवधारणा अनुसार दुई देशबीच सडक तथा रेल कनेक्टिभीटी विस्तार, लगानी, ब्यापार, पर्यटन गरी विविन्न क्षेत्रमा सहकार्य हुनेछ ।