
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचन समग्र रुपमा उत्साहजनक वातावरणमा अघि बढिरहेको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारी, देखिएका समस्या र निर्वाचनसँग जोडिएर आएका विभिन्न घटनाक्रमबारे निर्वाचन आयोगमा भएको छलफलपछि प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।
स्थानीय तहको निर्वाचनका लागि आयोगबाट आवश्यक मेहनत र पहल नभएको भए आमजनतामा उत्साह र विश्वास पैदा गर्न निकै कठिनाइ हुन्थ्यो भन्दै प्रधानमन्त्री दाहालले सुरक्षा तयारी र सक्रियताले निर्वाचनलाई असर पुग्ने क्रियाकलाप हुन नपाएको उल्लेख गर्नुभयो ।
निर्वाचनको प्रतिरोध गर्ने पक्षबाट मुलुकका केही भागमा तोडफोड, आगजनी, प्रतिरोधका घटना भएको बताउँदै उहाँले गोरखालगायतका जिल्लाका घटनामा सरकारबाट हस्तक्षेप भयो भन्ने कुरामा सत्यता नभएको स्पष्ट गर्नुभयो ।
दोलखामा मङ्गलबार भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएर अनुसन्धान गर्न निर्देशन दिइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले प्रतिबद्धतापत्रमा भएको सामूहिक प्रतिबद्धताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले निर्वाचनको कार्यक्रममा सहभागी भएर होटलमा बास बस्ने तयारीमा रहेका आफ्ना कार्यकर्तामाथि सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ताबाट आक्रमण हँुदा दोलखामा एकजनाको मृत्यु भएको घटनाप्रति आयोगको ध्यान जान आवश्यक छ भन्नुभयो ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना रोक्न सरकार र आयोगबाट सदासयता, प्रतिबद्धता देखाउने मात्र होइन, व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता होस् – उपनेता नेम्वाङले भन्नुभयो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनको समग्र तयारीको अवस्थाबारे आयोगबाट स्पष्ट जानकारी माग गर्दै उहाँले आचारसंहिताको उल्लङ्घन गर्ने पक्षमा आयोगलाई चनाखो हुन सुझाव दिनुभयो ।
नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सत्तारुढ दलसँग सम्बन्धित ठूला राजनीतिक दलबाट अत्यन्त आपत्तिजनक रुपमा भइरहेको आचारसंहिता हननका घटनाले निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा आशङ्का उठेको धारणा व्यक्त गर्नुभयो ।