
काठमाण्डाैं, २६ वैशाख । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभई निर्वाचनमा भाग लिन नसकिने अडान राखेको छ ।
प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रसँगको सामूहिक भेटमा राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुले संविधान संशोधन नभए निर्वाचनमा भाग लिन नसकिने प्रष्टयाएका हुन ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नगरी पहिलो चरणको निर्वाचनको तयारी गरिएको भन्दै सरकार र सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रको आलोचना गरेका थिए ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेठ ४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
संविधान संशोधन नगरी निर्वाचनमा भाग लिन नसकिने अडान प्रमुख ती दलसँग राखिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जानकारी दिनु भयो । उहाँले सरकारले फेरी जेठ ४ गते संविधान संशोधन गर्ने आश्वासन दिएको पनि बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि तयार रहेको बताउनु भयो ।
उहाँले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै भेट गरी संविधान संशोधन प्रस्तावलाई निष्कर्षमा पुर्याउने विषयमा छलफल हुने निर्णय गरिएको जानकारी पनि दिनु भयो ।
प्रमुख प्रतिपक्ष एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधनका विषयमा साझा सहमतिमा पुग्न प्रधानमन्त्री तयार हुनु भएको प्रतिक्रिया दिनु भयो । उहाँले संविधान संशोधनसम्बन्धि पार्टीको अडान भने यथावत रहेको पनि स्पष्ट पार्नु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई पुनः दवाब दिन सुरु गरेको छ । बैखाख १७ गते नै संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रतिवद्धताबाट सरकार पछि हटेको पार्टीको आरोप छ ।