
जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीता र मधेसी जनताको अधिकार प्राप्तिको पक्षमा रहेका राजनीतिक दललाई मजबुत गर्न आग्रह गर्नुभएको छ ।
जनकपुरधाममा आज आयोजित महावीर युवा कमिटीको पद स्थापन समारोहमा उहाँले भन्नुभयो — “राजनीतिक परिवर्तनका बाधक शाक्तिलाई परास्त गर्नु आजको आवश्यकता हो ।”
उपप्रधानमन्त्री निधिले सङ्घीयताको संरचनाका बारेमा बहसको थालनी गर्नु पनि जरूरी भएको बताउनुभयो । प्रादेशिक संरचना अन्तर्गत प्रदेश नम्बर –२ को आशाको केन्द्र जनकपुरधाम भएकाले यहाँ रहेका पूर्वाधारलाई सुरक्षित राख्नु आवश्यक भएको चर्चा गर्दे उहाँले जनकपुरधामलाई प्रदेशको राजधानी बनाउनेसन्दर्भमा यहाँका जनतामा संवेदनशीलता, संयम, धैर्य, शिष्टाचार र एक अर्कालाई सम्मान गर्ने व्यवहारको खाँचों औँल्याउनुभयो ।
उपप्रधानमन्त्री निधीले माघ ७ गतेसम्म तीनै तहको निर्वाचन सम्पन्न नभएमा राष्ट्रमा जटिल राजनीतिक सङकट आउनसक्ने भएकाले संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरी आमूलपरिवर्तनको मार्गतिर सबै उन्मुख हुनुपर्ने धारणा राख्नुभयो ।
जनकपुरधामको माटोसमेत श्रद्धाको केन्द्र भएकाले जनकपुरधामको विकास अभियानमा कलह नगरी परस्परमा सहयोगी भई अग्रसर हुनु जरूरी छ उहाँले भन्नुभयो ।