
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचनमा सबै दललाई सहभागी बनाउन आफू सफल भएको बताएका छन्। उनले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयनमा सबै दल उत्साजनक रुपमा सहभागी हुनु राजनीतिक सफलता भएको बताए।
बुधबार बाठमाडौँमा राष्ट्रिय योजना आयोगको ३९ औँ बैठकलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आफूलो लामो समयको प्रयसपछि सबै दललाई निर्वाचनमा ल्याउन सफल भएको बताए। उनले भने, ‘राष्ट्रिय एकता र सबै दलहरुको संकल्पसहित निर्वाचनमा जाने वातावरण बनाउन पाएको मलाई खुसी र गौरवको अनुभूति भएको भएको छ।’
प्रधानमन्त्री प्रचण्डले पहिलो चरणको मनोनयनमा सबै दलको उत्साहपूर्ण सहभागिता देखिनु राजनीतिक सफलता भएको बताएका छन्। ‘निर्वाचनका लागि मनोनयन गर्न सबै दलहरुमा जुन खालको उत्साह देखियो, त्यसले सकारात्मक संकेत गरेको छ’, उनले भने, ‘ त्यो उत्सहा नै वर्तमान राजनीतिको प्रगति हो।’
उनले आफू सुरुदेखि नै हिमाल, पहाड र तराइका सबै क्षेत्रलाई समेटेर निर्वाचन गर्नु पर्ने पक्षमा रहेको बताउँदै आएको र त्ययसको पहलकदमी लिन आफू सफल रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक क्षेत्रमा मात्रै नभएर आर्थिक क्षेत्रमा पनि देश प्रगतिको दिशामा अगाडि बढेको बताए। उनले आर्थिक क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको भन्दै मन्त्रालय, योजना आयोगलगायतका निकायहरुको सामूहिक प्रयासबाट आर्थिक क्षेत्रमा सकारात्मक संकेत आएको जानकारी दिए।