
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताउनुभएको छ।
स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग आइतबार आयोग परिसरमा भएको अन्तक्र्रियामा उनले भन्नुभयो ‘ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनका सम्पूर्ण कार्यक्रम लिएर आयोग नगरपालिका र गाउँपालिकामा पुगिसकेको छ।’
‘स्थानीय सरकारको अवधारणामा हुन लागेको निर्वाचनले स्थानीय तहमै कानुन निर्माण गर्नेसम्मको अधिकार स्थापित गर्ने भएकाले स्थानीय तह निर्वाचन अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहनेछ’, प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो।
निर्वाचन आयोगले विगत तीन वर्षदेखि लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उहाँले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो।
यौनिक तथा अल्पसङ्ख्यक समुदायको तर्फबाट सहभागी पिङ्की गुरुङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा अग्रमोर्चामा रहेर निर्णायक भूमिका निर्वाह गरेको भए पनि आफूहरुले पुर्याएको योगदानलाई ओझेलमा पार्ने काम भएको टिप्पणी गर्नुभयो।
स्थानीय तहको निर्वाचनमा मुलुकका ४० जिल्लाका १४३ जना तेस्रो लिङ्गीले मतदानको अधिकार प्राप्त गरेको आयोगले जनाएको छ।