विर्तामोड । यस अघि विभिन्न समयमा जुट्दै फुट्दै गरेका लिम्बुवानका विभिन्न संगठनहरु स्थानीय तहको चुनाव विथोल्न फेरि एकजुट भएका छन् । सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरुविच कार्यगत एकता गर्दै चुनाव विथोल्नका लागि एकजुट भएको लिम्बुवानका नेताहरुले बताए ।
स्थानीय चुनाव विथोल्नका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान प्रदेश समिति, लिम्बुवान प्रान्तीय परिषद, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र लिम्बुवान मुक्ति मोर्चाविच कार्यगत एकता भएको हो ।
उनीहरुले अहिलेका लागि स्थानीय चुनाव हुन नदिनका लागि मोर्चाको निर्माण गरिएको बताएका छन् । संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवाले आफ्नो मागको सुनुवाई नगरि सरकारले जबरजस्ती चुनाव गर्न लागेको भन्दै लिम्बुवानवादी संगठन ‘मरता क्या नहीँ करता’ को स्थितिमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी एकोहोरो पेल्ने प्रयत्न गरेपछि हामी एक हुन बाध्य भयौं । हामी स्थानीय चुनाव हुन दिँदैनौं, विथोल्छौं ।’
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले सहज तरिकाले आफ्ना माग राख्दा सरकारले नसुनेका कारण असहज परिस्थितिका लागि अघि बढ्न आफूहरु बाध्य भएको बताउनुभयो । उचित संविधान संशोधन गरि लिम्बुवान सुनिश्चित नहुन्जेल मोर्चाले आन्दोलन जारी राख्ने उहाँको भनाइ थियो । लिङदेनले भन्नुभयो, ‘सरकार एकतन्त्रीय शासक जस्तो भएर प्रस्तुत भयो । त्यसैले हामीले आन्दोलनका लागि मोर्चाबन्दी गर्नुपर्यो ।’
यसअघि विभिन्न गुटमा विभाजित लिम्बुवानका शीर्ष नेताहरुको नयाँ बनेको मोर्चामा समान हैसियत रहने लिम्बुवानका नेताहरुले बताएका छन् । मोर्चाका गतिविधि नियाल्नका लागि किराँत याक्थुङ चुम्लुङलाई सहजकर्ताको भूमिकामा राखिएको उनीहरुले बताएका छन् । उनीहरुले सात प्रदेशको सीमांकन जनविरोधी र महेन्द्र शैलीको भन्दै उनीहरुले दाबी गर्दै आएको लिम्बुवानका सबै क्षेत्रमा सशक्त प्रतिरोधका कार्यक्रमहरु सञ्चालन गर्ने बताएका छन् ।