अाेखलढुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनु भएकाे छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै राष्ट्रपति उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयाे ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पुर्याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताउनु भयाे ।
राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयाे ।
स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ।
तीन दिनसम्म चल्ने यस महोत्सवमा सांसदहरु शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, यज्ञराज सुुनुवारलगायत पर्यटन विकासमा आफूहरुले सक्ने सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।