
काठमाण्डाैं । तराईमा महिलाहरुमाथि हातपात र आक्रमण हुन थालेको भन्दै सांसदहरुले शान्ति सुरक्षा र मानवअधिकारको रक्षा गर्न सरकारसंग माग गरेका छन् ।
व्यवस्थापिका संसदको आजको बैठक मार्फत प्रतिपक्ष दलका सांसदहरुले सत्ताधारी दलको आडमा मधेस केन्द्रीत दलका कार्यकर्ताले मधेसका महिलामाथि आक्रमण गर्ने गरेको आरोप लगाउदै शान्ति सुरक्षा र मानवअधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनिहरुले सदनमा उठेका विषय सरकारले सुनुवाई नगरेको, वरियता विवादमा बस्न नसकेको, प्रहरी प्रशासनको प्रमुख नियुक्तिमा भएको ढिलाई लगायत विषयमा सरकारको आलोचना गरेका छन् ।
एमाले सांसद सत्यनारायण मण्डलले आफ्नो परिवारमाथि आक्रमण भएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताद्धारा परिचालित गुण्डाले मुलुकमा जथाभावी गरेको आरोप लगाउनुभयो । उहाँले शान्ति सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको अबस्थामा मानवअधिकार मुलुकमा छ कि छैन भनि प्रश्न गर्नुभयो ।
नेपाली जनता दलका सांसद हरि चरण शाहले सरकारले सदनमा दर्ता गराएको संविधान संसोधन विधेयक प्रस्ताव छलफल गरि छिटो टुंगोमा पुर्याउन माग गर्नुभयो । उहाले एन सेल को कर छलिको विषय चर्चामा रहेको भन्दै सत्ताधारी दलबाट मिलिजुली कर छली गर्ने नाटक भएको भन्दै आपत्ती जनाउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मर्यादा क्रमको विवादकै कारण लामो समय सम्म मन्त्रीपरिषद्को बैठक नबसेर मुलुकलाई अनिर्णयको बन्दी बनाईएको भन्दै मन्त्रीपरिषद्को बैठक बस्ने मिति सदनलाई जानकारी गराउन माग गर्नुभयो ।