
विराटनगर । गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट सुरु भएको पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि चुनौतीहरुको पहिचान र वर्गीकरण गरेर सूचनाको अवस्था तयार पार्नका लागि आवश्यक कार्ययोजना बनाउने उहाँले बताउनु भयो ।
गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता रहेको छ ।
सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आमसमस्यालाई समाधान गर्न मानसिक रुपले तयार हुने, सुरक्षाको अवस्थालगायतका विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ ।
गृहराज्यमन्त्री बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।