
काठमाडौंँ । काठमाडौँ र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको २० वर्ष पुगेका अवसरमा चिनियाँ सहर सियानमा शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा सहभागीले नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिनेबारेमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले नेपाल–चीन सम्बन्ध र चीनको बृहत् आयोजना वान बेल्ट वान रोडकाबारे चर्चा गर्दै नेपाल यसबाट अधिकमात्रामा लाभान्वित हुनसक्ने धारणा राखेका थिए ।
सो क्रममा नेपाल–चीन सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउन सरकारी तवरका अतिरिक्त जनताको तहमा पनि काम हुनपर्नेमा जोड दिइयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका विभिन्न भाषण एवम् धारणा समेटिएको पुस्तकको अङ्ग्रेजी संस्करण सेलेक्टेट स्पिच अफ केपी शर्मा ओलीका केही प्रति चीनको सियान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
चीनको शाङ्सी प्रान्तको सियान सहरमा रहेको प्रसिद्ध सियान मेडिकल विश्वविद्यालयमा आयोजित सो कार्यक्रममा पुस्तक विश्वविद्यालयमा लामो समयदेखि अध्यापन एवम् अनुसन्धान गर्दै आएका नेपाली प्राध्यापक डाक्टर राजीवकुमार झाले नेपाली प्रतिनिधिका रुपमा विश्वविद्यालयका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव फान विङ्गलाई हस्तान्तरण गरे ।
सो कार्यक्रममा विश्वविद्यालयका कम्युनिष्ट पार्टी सचिव फान विङ्गले नेपाल–चीन सम्बन्ध सुमधुर रहेको बताउँदै आगामी दिनमा जनस्तरको सम्बन्धलाई पनि अघि बढाउनुपर्नेमा जोड दिए ।
प्राध्यापक डा झा भगिनी सम्बन्ध रहेको सो सहरका नेपाली दूतका रुपमा रहेका छन् । उनले चीनले नेपाल सम्बन्धलाई उच्च महत्व दिएको स्पष्ट गर्दै पुस्तकलाई विश्वविद्यालयमा स्थान दिएर पनि चीनले सम्पूर्ण नेपाली जनताको सम्मान गरेको बताए ।