
काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये मंगलबार छ जनाको संसदीय सुनुवाइ गरेको छ ।
समितिले कतारका लागि प्रस्तावित रमेश कोइराला, ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकाल र इजरायलका लागि प्रस्तावित नीरञ्जन थापा, गणतन्त्र कोरियाका लागि अर्जुनजङ्गबहादुर सिंह, (जापानका लागि प्रतिभा राणा र डेनमार्कका लागि युवनाथ लम्सालको सुनुवाइ गरेको हो ।
सरकारले केही समयअघि १२ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । प्रस्तावित राजदूतले समितिसमक्ष आफ्नो योग्यता, अभिरुचि, अवधारणा, कार्यायोजना र सोच प्रस्तुत गर्नुभएको थियो ।
उनीहरुले आफ्नो नाम अनुमोदन भएमा नेपालको संविधानमा रहेका विशेषताको प्रचारप्रसार गर्ने, देशको शिर उठाउने तथा नेपाली जनताले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।