
सप्तरी । गत सोमबार सप्तरीमा भएको घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेका सप्तरीको जमुनीमधेपुरा-१ का करिब ५५ वर्षका इनरदेव यादवको शुक्रबार मृत्यु भएसँगै सप्तरी घटनामा मृतकको संख्या पाँच पुगेको हो । घाइते यादवको उपचारको क्रममा मृत्यु भएको मधेसी मोर्चाका नेताहरुले पुष्टि गरेका छन् ।
यस्तै यादवको उपचारको क्रममा शुक्रबार दिउँसो २:२० मा मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेश भट्टराईले पनि पुष्टि गरेका छन् । मोर्चाका नेता, कार्यकर्ता मृतकहरुको शव लिन शुक्रबार बीपी प्रतिष्ठानमा गएका छन् ।
यसअघि बुधबार पनि प्रतिष्ठानमै उपचाररत सप्तरीको मलेठ-२ बस्ने ३८ वर्षीय वीरेन्द्रकुमार महतोको मृत्यु भएको थियो भने सोमबार प्रहरीको गोली लागी सन्जन मेहता, पीताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।
नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको सभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा सोमबार तीनजना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो भने २४ जना कार्यकर्ता घाइते भएका थिए ।