
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले शुक्रबार गरेको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । सप्तरीमा एमालेको सभामा झडपहुँदा चार जनाको मृत्यु भएको घटनाको विरोधमा मोर्चाले शुक्रबार बन्द आह्वान गरेको हो ।
काठमाडौ उपत्यकामा फाट्ट फुट्ट सवारी साधन चलेपनि देशका अन्य भागमा भने वढी प्रभाव परेको छ । काठमाडौ उपत्यकाका बजार आंशिक खुलेका छन भने, सवारी साधनहरु अन्य दिनको तुलनामा कम चलेका छन । काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनहरु पनि न्यून संख्यामा रहेको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।
यस्तै बन्दका क्रममा सडक अवरुद्ध गर्न खोज्ने तीन दर्जनभन्दा बढी मोर्चाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसरका अनुसार सातदोबाटोबाट २५ जना, महाराजगञ्जबाट १० जना तथा बल्खुबाट ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ ।