
भक्तपुर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलको योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा बुधबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री , गृह मन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्ध रहेको बताए ।
प्रधानमन्त्रीसँगको भेटमा मोर्चाको मागको सुनवाई नगर्ने भन्ने उत्तर आए पछि उनले सरकारलाई दिएको समर्थन मेधशी मोर्चाको बुधबारको बैठकले फिर्ता लिएको बताउँदै बुधबारबाट सरकार अल्पमतमा परेको बताए । उनले एक हप्ताको अल्टिमेटम दिएर सरकारको समर्थत फिर्ता लिने अडान लिएको बताए ।
स्थानीय तहको निर्वाचन नहुने बताउँदै उनले संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नुले निर्वाचन नगर्ने षड्यन्त्र भएको बताए ।
उनले एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रुपमा घटाइएको घटनाको विरोध जति गरे पनि कम नहुने बताए । उनले सप्तरी घटनामा टाउको, र छात्तीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको प्रष्ट हुने बताए ।