
काठमाडौँ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र संसद्मा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेकोे समितिको बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति सुशीलकुमार श्रेष्ठले आयोगलाई समितिले प्रतिवेदन संसद्मा पेस गर्न यसअघि पनि निर्देशन दिएको र पुनः निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।
समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कार्य सम्पादन तदारुकताका साथ अघि बढाउन आवश्यक पर्ने कानुन निर्माण तथा संशोधन गर्न र आवश्यक जनशक्ति उपलब्ध गराउन सरकारलाई सचेत गराउने निर्णय गरेको छ । सरकारले समयमै कानुन निर्माण गर्न नसक्दा दुवै आयोगले काम गर्न नसकेको समितिको निष्कर्ष छ ।
समितिका सदस्य कमला घिमिरेले सरकारले आयोगको प्रतिवेदन समयमा संसद्मा बुझाउन नसक्नाको कारण तत्काल खुलाउनुपर्ने माग गरिन् भने गीता क्षेत्रीले दुवै आयोगले आफ्नो काम अघि बढाउन नसक्नामा सरकार पनि दोषी देखिएको उल्लेख गरिन् ।