
पोखरा । शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले स्थानीय तहको निर्वाचन गर्न संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्तावलाई छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
पोखराको नदीपुरस्थित कन्या क्याम्पस तथा कन्या माध्यमिक विद्यालयको हातामा आजदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले झन्डै डेढ दशकदेखि स्थानीय निकाय जनप्रतिनिधि विहीन भएकाले संविधान संशोधन प्रस्ताव पास गरेर वैशाखको अन्तिम वा जेठको पहिलो हप्तामा निर्वाचन गरिनुपर्ने बताए ।
कन्या क्याम्पस प्रदेश नं– ४ कै नमुना क्याम्पस वन्ने विश्वास व्यक्त मन्त्री केसीले यसको स्तरोन्ततीका लागि माग भए मन्त्रालयका तर्फबाट बाट सक्दो सहयोग गर्ने आश्वासन दिए । सांसद शारदा पौडेलले क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालनका लागि सांसद विकास कोषवाट रु २१ लाख १११ सहयोग गर्ने वचन दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यज्ञबहादुर थापा, पण्डित दिनबन्धु पोखरेल, संस्थापक क्याम्पस प्रमुख सुरेन्द्रबहादुर भारी, धु्रवशरण बस्याललगायतले क्याम्पसको सुधारका लागि निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गरेका थिए ।
पण्डित दिनबन्धु पोखरेलबाट कथावाचन हुने सो महायज्ञ फागुन ३ गतेसम्म चल्नेछ । महायज्ञमा करिब रु पाँच करोड उठने लक्ष राखिएको छ ।