
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले समयमा निर्वाचन हुन नसके मुलुक चक्रब्यूहमा फस्ने चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तनका अभियन्ता दलले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्र्ने राष्ट्रिय दायित्वलाई पूरा गर्न राष्ट्रिय एकताको नयाँ माहोल सिर्जना गर्नुपर्नेमा जोड दिए ।
“को मान्छ, को मान्दैन, कसले बहाना बनाउँछ भन्ने छाड्नुस् नत्र तपाईँलाई परिवर्तनका उपलब्धि धरापमा पार्ने बाधकका रुपमा इतिहासले चित्रित गर्नसक्छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्दै उनले भने ।
कार्यक्रममा नेता नेपालले चौतारी स्थापनाकालका अगुवा र पूर्व अध्यक्षलाई सम्मान गरेका छन् । सम्मानित हुनेमा नेकपा (एमाले) का तत्कालीन पार्टी प्रचार विभाग प्रमुख प्रदीप नेपाल, वरिष्ठ पत्रकार गोपाल थपलिया, पूर्व अध्यक्ष विजय चालिसे, शम्भु श्रेष्ठ, बालकृष्ण चापागाईँ, गगन विष्ट र राजेन्द्र अर्याल छन् ।