
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीको जैविक विविधताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम (जिएसएलइपी) को सञ्चालक समितिको दोस्रो बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय समुदायले वातावरणसँग सम्बन्धित बहुपक्षीय सम्झौतामार्फत हातेमालो गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए।
जैविक विविधता संरक्षणका लागि नेपालले राष्ट्रिय जैविक विविधता रणनीति तयार गरी यसको कार्ययोजना ९सन् २०१४–२०२०० लागू गरेको अवगत गराउँदै उनले भने, “लोपोन्मुख अवस्थामा रहेको हिउँ चितुवा नेपालमा संरक्षणको प्राथमिकतामा छ ।”
प्रधानमन्त्री दाहालले नेपालमा हिउँ चितुवा पाइने क्षेत्र प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिएको अवगत गराउँदै दक्षिण एसियाको केन्द्रमा रहेको हिमालय तल्लोतटीय क्षेत्रका लाखौं मानिसको पिउने पानीको मुख्य स्रोत पनि भएको बताए। प्रधानमन्त्री दाहालले यो उच्चस्तरीय बैठकबाट एकीकृत रुपमा हिमालको पारिस्थितिकीय प्रणाली संरक्षणको दिशामा उपयोगी हुने र त्यस क्षेत्रका जनताको दिगो जीविकोपार्जनका लागि महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे।