काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको कार्यसमिति समावेशी नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
असन्तुष्टलाई मिलाउनका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरले सात जनालाई विभिन्न पदाधिकारीमा चयन गरेका हुन् ।
जसअन्तर्गत डा. विजय सिंहलाई, उमाकान्त झा, चन्दा चौधरी, जितेन्द्र सिहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु यसअघि केन्द्रीय सदस्य थिए ।
त्यस्तै डा.सुरेन्द्र झा, समिम मियाँ अन्सारी र रामप्रवेश बैठकलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु पनि यसअघि केन्द्रीय सदस्य थिए ।
अब पार्टीमा सातजना महासचिव र छ जना सहमहामन्त्री भएका छन् । यसअघि वृजेश गुप्ता र जंगीलाल राय यादवलाई महासचिव बनाइएको थियो । दोस्रो पटक विस्तार हुँदा मात्र जितेन्द्र सोनललाई महामन्त्री बनाइएको थियो । अहिले तेस्रो पटकको विस्तारमा चारजना महामन्त्री थपिएका हुन् ।
यसअघि तीनजना सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, पशुपति मिश्रा र राकेश मिश्र थिए । अब पार्टीमा छ जना सहमहामन्त्री भएका छन् ।
अहिले जतिजनालाई पदाधिकारीमा ल्याइएको छ, उनीहरु सबै पार्टी नेतृत्वको आलोचना गरिरहेका थिए । फेसबुकमार्फत उनीहरुले कार्यसमितिको खुलेर विरोध गरेका थिए ।