पोखरा। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उहाँले पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता देशको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
संविधान संशोधनमा अघि सारिएको प्रदेशको सीमाङ्कनको विषयमा यसअघि तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला र केपी ओलीबीच हस्ताक्षर गरिएको विषय भएको उल्लेख गर्दै उहाँले अहिले त्यही अवधारणालाई अघि बढाइएको दावी गर्नुभयो ।
संविधानको सफल कार्यान्वयन र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तीनवटै तहका निर्वाचनमा काँगे्रसले जित्नु आवश्यक भएको बताउँदै उहाँले त्यसका लागि पार्टीभित्र आन्तरिक एकता कायम गरी अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।