अवुधावी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसबिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन्। दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले भने,‘पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्नु हुँदैन। हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो। कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन। मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन्। मधेस बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन।’
उनले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको स्पष्ट पारेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकारको चासो आर्थिक समृद्धि र विप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रवासी नेपालीहरुसँग अन्तर्क्रिया अघि प्रधानमन्त्री प्रचण्डले नेपाली व्यवसायीहरुसँग छलफल गरेका थिए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण बनाउन आफू प्रयत्नशील रहेको बताए। उनले लगानीको वातावरण बनाउन मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्न लागेको जानकारी समेत दिए।
भेटमा नेपाली व्यवसायी र प्रवासी नेपाली कामदारहरुले नेपालको आर्थिक विकास र विदेशमा नेपालीले भोग्नुपरेका विविधि समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए।