
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उर्जाको भविष्यबारेको विश्व सम्मेलनमा भाग लिन युनाइटेड अरब इमिरेट (युएइ) प्रस्थान गरेका छन्। वर्ल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीसँगै उर्जामन्त्री जनार्दन शर्मा पनि युएइ गएका छन् भने मन्त्रालयको छुट्टै टोली पनि त्यसतर्फ प्रस्थान गरेको छ।
चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालमा उर्जाको सम्भावनाका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ। युएइका युवराज शख मोहम्मद बिन जायद अल नाह्येनको निमन्त्रणमा भएको प्रधानमन्त्री प्रचण्डको भ्रमणमा नेपाली कामदारको सामाजिक सुरक्षा र पारिश्रमिक तथा अन्य सुरक्षाको बारेमा छलफ हुने बताइएको छ। यसैवर्ष युइएले नेपालमा खोलेको दूतावास उद्घाटनका क्रममा नेपाल आएका विदेशमन्त्रीले निमन्त्रणा गरेकाले प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जानुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान चार बजे नेपाल फर्कने कार्यक्रम छ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनको स्वकीय सचिवालयका सदस्य छन्। यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुनेछन्।