काठमाडौँ । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।

गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।
सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।
समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताउनुभयो ।
त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताउनुभयो । यता पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती भएको बताउनुभयो ।
शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।